No Comments

घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कुराहरू

घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कुराहरू

घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कुराहरू

घडेरी खरिद गर्नु घरवास व्यवस्थापनको सुरुवाती बिन्दु हो । सुविधायुक्त ठाउँमा सहज किसिमको घडेरी किनेर आवश्यकता र बजेट अनुसारको घर बनाएर बस्ने धेरैको चाहना हुन्छ । 

शिक्षा, स्वास्थ्यलगायत सुविधाका कारण पछिल्लो समयमानिसहरू सकेसम्म केन्द्रीय राजधानी आउने गरेका छन् । अथवा, प्रदेश राजधानी र त्यो पनिसम्भव नभए जिल्ला सदरमुकाममा घडेरी किनेर घर बनाएर बस्ने प्रचलन बढ्दो छ । आर्थिक स्थिति बलियो हुनेले गाउँकै पैतृक सम्पत्ति बेचबिखन गरेर घर घडेरी जोड्ने गर्छन्। आर्थिक स्थिति कमजोर हुनेले वैदेशिक रोजगारीबाट कमाएको पैसाबाट घडेरी खरिद गर्छन् ।

यसरी दुःख गरी कमाएको पैसाले खरिद गरेको घडेरीमा कुनै किसिमको कानुनी झमेला पर्‍यो, साँधसिमानामा विवाद पर्‍यो, अदालतमा मुद्दा मामिला पर्‍यो भने घर बनाएर आनन्दसँग बस्ने सपनामा तुषारपात हुन्छ । समस्या समाधान गर्न अदालत र अन्य निकायको ढोका ढकढक्याउनुपर्छ । यसो हुँदा मानसिक तनाव झेल्नुपर्छ । समय पनि त्यस्तै लाग्छ ।घर बनाउने पैसामुद्दामामिलामा खर्च गर्नुपर्ने हुनसक्छ । 

त्यसैले यी कुरामा ध्यान पुर्‍याउने हो भने घडेरी किनिसकेपछि पछुताउनुपर्ने अवस्था आउँदैन ।

वास्तविक जग्गाधनीसँग भेटेर कुराकानी गर्ने

जग्गा बिक्री गर्ने वास्तविक व्यक्ति को हो ? उसले आफ्नो इच्छाले बिक्री गर्न लागेको हो कि होइन ? सो जग्गा उसको हक भोगमा छ÷छैन आदि कुरा बुझ्नुपर्छ । जग्गा दलालहरूले वास्तविक जग्गाधनीलाई नभेटाउने, ‘मेरो जग्गा हो’, ‘आफ्नो मान्छेको जग्गा हो’,‘मैले बैना गरेको जग्गा हो’ भनेर नक्कली बैना कागजसमेत खडा गरेर देखाउने र ठगी गरेका थुप्रै घट्ना भएका छन् । त्यसैले वास्तविक जग्गाधनी नभेटीकन जग्गाको कुरा अगाडि बढाउन हुँदैन । 

मालपोत कार्यालयबाट जग्गाको अभिलेख हेर्ने

खरिद गर्न लागेको जग्गाको मोठ, स्रेस्ता, पाना नं., कि.नं., जग्गाधनीको फोटो, तीनपुस्ते विवरण ठीक भए/नभएको कुरा सम्बन्धित मालपोत कार्यालयबाट बुझ्नुपर्छ । जग्गाधनीसँग लालपुर्जा र नागरिकताको फोटोकपी मागेर सम्बन्धित मालपोत कार्यालयमा देखाएर विवरण मिल्छ /मिल्दैन रुजु गराउन सकिन्छ ।

रोक्का रहे/नरहेको बुझ्ने

उक्त जग्गा कुनै अड्डा अदालत, बैंक र वित्तीय संस्था वा अन्य कुनै निकायको पत्रबाट रोक्का रहेको भए सो कुरा पनि मालपोत कार्यालयबाट थाहा पाउन सकिन्छ । अभिलेख हेर्ने क्रममा रोक्का रहे/नरहेको वा रहेको भए कुन निकायबाट रहेको हो सोसमेत बुझी प्रस्ट हुनुपर्छ । 

नक्सा र फिल्डमा बाटो छ/छैन हेर्ने

जग्गाको नक्सा र फिल्डमा भएको बाटोको नाप मिल्नुपर्छ । जग्गामा ठूलो बाटो छ तर फिल्डमा सानो छ र अरू जग्गामा घर बनिसकेका छन् भने नक्सा अनुसारको बाटो कायम गर्न सकिँदैन । त्यसैले नक्सामा मात्र बाटो ठूलो भएर हुँदैन । अन्य जग्गामा घर बनेका छैनन्, फिल्डमा ठूलो छ नक्सामा सानो छ भनेपनि अन्य जग्गावालको क्षेत्रफल नपुगेमा बाटोमा भएको बढी जग्गाबाट लिनसक्ने हुँदा पछि बाटो सानो हुनसक्छ ।

नक्सा र फिल्डको आकार मिल्छ/मिल्दैन हेर्ने 

जग्गाको नक्सा र फिल्डको आकार मिल्नुपर्छ। कुनै जग्गामा फिल्डमा बढी क्षेत्रफल हुनसक्छ भने कुनै जग्गामा नक्साको भन्दा कम पनि हुनसक्छ । त्यसैले फिल्डमा नापेर भएको क्षेत्रफलको मात्र पैसा तिर्नुुपर्छ । नक्सामा बढी भएपनि फिल्डमा छैन भने नभएको जग्गाको पैसा तिर्नु हुँदैन । फिल्डमा बढी भएमा नक्सामा नभएमा पनि बढी जग्गाको पैसा तिर्नु हुँदैन ।

जग्गा रैकर,गुठी वा मोहीबारे बुझ्ने 

काठमाडौँ, भक्तपुर, ललितपुरलगायत अन्य जिल्लामा गुठीका जग्गा हुन्छन् । गुठीको जग्गा रहेछ भने गुठीको नामसमेत उल्लेख भएको पुर्जा हुन्छ । यसको मूल्यांकन र हकभोगसम्बन्धी आफ्नै नियम हुन्छ । त्यसको अधीन रहेर मात्र हकभोग र बिक्रीवितरण गर्न पाइन्छ ।  

जग्गा राखेर ऋण लिनुपर्ने अवस्था भएमा बैंक र वित्तीय संस्थालेगुठीको जग्गा धितो राख्न मान्दैनन् । रैकर एकलौटी जग्गामा भने खासै समस्या हुँदैन । 

कुनै जग्गा मोही दर्ता गरी हकभोग गरेको रहेछ, उसको भाग दिएको अवस्था रहेनछ र उसलाई थाहा नदिई बिक्री गरेको रहेछ भने पनि उसले मुद्दामामिला गर्नसक्छ त्यसैले सोबारे पनि बुझ्नुपर्छ ।

साँधसिमानाको अवस्था बुझ्ने

कुनै जग्गामा सँधियारबीच साँधसिमानाको विवाद भएको हुनसक्छ । कसैको जग्गाको क्षेत्रफल नपुगेको वा कसैको बढी देखिएको अवस्थामा त्यस्तो विवाद भएको हुनसक्छ । कसैको जग्गा कतै घुसेको वा मिचिएको प्रमाणित भएमा अर्काको जग्गाको क्षेत्रफल घट्न सक्छ । त्यसैले साँधसिमाना प्रस्ट छ÷छैन एकपटक सँधियारसँग बुझ्नुपर्छ । र, जग्गाधनीलाई नक्साअनुसारको सिमाना रेखांकन गरी यकिन गर्न लगाउनुपर्छ ।

लिखतमा सकेसम्म एकाघरका परिवारलाई साक्षी राख्न लगाउने

जग्गा खरिद गरिसकेपछि बिक्रीकर्ताको तर्फबाट कुनै कानुनी समस्या नआओस्भनेर रजिस्ट्रेसनको लिखत पारित गराउँदा सकेसम्म एकाघरका अंशियार सदस्यलाई साक्षी राख्नुपर्छ । जस्तैः श्रीमान–श्रीमती, उमेर पुगेका छोराछोरी, दाजुभाइ, आमाबाबु आदि । 

यसो भएमा पछि कुनै अंशियारले ‘मंजुरी छैन’ उजुरबाजुर गर्न पाउँदैन । गरेमा पनि लिखत बदर हुने सम्भावना कम हुन्छ ।

घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कुराहरू

Similar properties:

https://fyafullaa.com/properties/?sku=&price=100%3B50000000&property_type%5B%5D=104

Social medias:

Facebook: https://www.facebook.com/fyafullaacom

Youtube: https://bit.ly/3orpcyw

घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कुराहरू